नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन सुरु गरिएको छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले मनोमानी रुपमा अवैधानिक रुपमा क्रियाशिल सदस्यता वितरण गरेर जिल्ला कमिटिलाई वाइपास गरेर वडा अधिवेशन गरेकाले बिहीबारदेखि रिले अनसन थालिएको हो ।
नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले बिहीबारदेखि अनिश्चितकालका लागि पार्टी कार्यालयमै रिले अनसन थालिएको जानकारी दिए। उनीहरुको मागमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले समर्थन गर्दै आएको छ ।
जिल्लाबाट निर्णय गरी सिफारिस गरेर पठाएका ४६० जना क्रियाशील सदस्यको नाम कटाएर अरु सदस्य थप गरेको जिल्ला सभापति मल्लको आरोप छ ।
जिल्ला कार्यसमितिको सहमतिबिना अधिवेशन हुन नसक्ने भन्दै मल्ल पक्षले पुनः अधिवेशन माग गर्दै आएका छन् ।
देउवा पक्षको दबाबमा निर्वाचन समितिले डडेलधुरामा २५ भदौमा जिल्ला सभापतिसहित बहुमत सदस्यको सहभागिताबिनै वडा अधिवेशन गराएको थियो ।