गोरखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा समानुपातिक प्रतिनिधित्वको माग गर्दै गोरखामा मुस्लिम समुदायले धर्ना गरेका छन् ।
गोरखा स्थित तीनधारेमा रहेकाे कांग्रेस पार्टी कार्यालयमा नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति गोरखाले शुक्रवार धर्ना दिएको हो ।
मुस्लिम समुदायका लागि यसअघि क्षेत्रीय र महाधिवेशन प्रतिनिधिमा छुट्याइएको कोटा हटाएर जनसंख्याको आधार बनाई विभिन्न समुदायको प्रतिनिधित्व कटौती गरेकाे उनिहरुकाे गुनासाे छ । संघले सबै जातजातिको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।
महाधिवेशनमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मुस्लिम समुदायबाट महाविधेशन प्रतिनिधि सुनिश्चित हुनुपर्ने र सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्व हुनुपर्ने उनीहरुको माग छ । यता कांग्रेस गोरखाका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले यस विषयमा केन्द्रमा जानकारी गराउने र माग सम्बाेधनका लागि पहल गर्ने बताए ।
संघका जिल्ला सभापति अलिउल्ला मियाँकाे अध्यक्षतामा भएकाे धर्ना कार्यक्रममा संघका केन्द्रिय सचिव रहमतुल्ला मियाँ, केन्द्रिय सदस्य रजनी मियाँ, मुस्लिम बिभागका केन्द्रिय सदस्य बाबुदिन मियाँ लगायतकाे सहभागिता रहेकाे थियाे । धर्ना कार्यक्रम करिब २ घण्टा चलेकाे थियाे ।
यस्तै शुक्रबार गोरखासहित तनहुँ, कास्की, स्यांजा लगायत देशैभरका जिल्लामा संघले पार्टी कार्यालयमा धर्ना दिएकाे छ ।