• बिहिबार, साउन १४ २०८३

काँग्रेस महाधिवेशनः गोरखा नगरको सभापतिमा ३ जनाको चर्चा, कसको योजना के ?


शुक्रबार, भाद्र २५ २०७८
1.1K
Shares

गोरखा । १४ औं महाधिवेशनका कारण नेपाली काँग्रेस अहिले गोरखासहित देशभर तातेको छ । डेढ बर्ष ढिलोगरी हुन लागेको महाधिवेशन अन्तरगत काँग्रेसले गोरखाका ९४ वटै वडामा अधिवेशन टुंग्याएको छ ।

गत भदौ १८ गते भएको अधिवेशनले वडासमिती सहित करिब १ हजार ७ सय क्षेत्रिय प्रतिनिधी चुनिसकेको काँग्रेस अब पालिका स्तरको अधिवेशनको संघारमा छ । आगामी भदौ २७ गते हुन लागेको पालिका स्तरीय अधिवेशनमा सभापतिसहितका पदमा उम्मेदवारी घोषणा हुने क्रम जारी छ ।

काँग्रेसको चुनावी सरगर्मी बढेसंगै स्थानीय तह, प्रदेश, क्षेत्र र जिल्लाको नेतृत्व कस्तो आउला भन्ने बिषय सबैको चासो बनेको छ । पार्टी कार्यालयदेखि, चिया चौतारीसम्म र नेता–कार्यकर्तादेखि, सर्वसाधारणसम्म हुने हरेक छलफल र गफको बिषय काँग्रेसको अधिवेशन हुने गरेको बताइन्छ ।

गोरखा नगरको सभापतिमा को–को छन् आकांक्षी ?

स्थानीय तहको अधिवेशन तयारीमा रहेको काँग्रेसको गोरखा नगरपालिकाको नेतृत्वका लागि ३ जनाको नाम चर्चामा छ । औपचारिक रुपमा घोषणा नगरेपनि काँग्रेस कार्यकर्तामाझ तिन जनाले अघोषित रुपमा आफ्नो पक्षमा लबिङ गरिरहेको बुझिएको छ ।

तिन आकांक्षीमा चन्दनबाबु खत्री, प्रविन तिवारी र डिलबहादुर थापा मगर हुन् । १४ वडा रहेकाे गोरखा नगरपालिकामा वडासभापति सहित २ सय ५४ जना प्रतिनिधी चुनिएका छन् ।

आकांक्षी मध्ये गोरखा नगरपालिका वडा नम्बर ८ बराह घर भएका खत्री हालकै नगरसभापति हुन । उनि फेरी सभापति बन्ने दौडमा छन् । वडासभापति हुदै ११ औं र १२ औं महाधिवेशनमा नगर सचिवको रुपमा काम गरेका खत्री १३ औ अधिवेशनबाट सभापति बनेका थिए ।

‘मेरो पहिलो कार्यकालमा भएको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयरसहित ८ वटा वडा जिताए, अब १४ वटै वडामा काँग्रेसलाई जिताउनका लागि पनि म नेतृत्वमा जान जरुरी छ’ आफ्नो योजना सुनाउदै खत्रीले सिभिलखबरलाई भने ‘नेतादेखि कार्यकर्तासम्म झाँगिएको वैचारिक द्धन्द्ध तोड्दै संगठनलाई बलियो बनाउन म प्रतिवद्ध छु ।’

यस्तै अर्का आकांक्षी तिवारी गोरखा नगरपालिका ३ नारेश्वरका स्थायी बासिन्दा हुन । नेविसंघबाट राजनीति सुरु गरेका उनी नेपाल स्वास्थ्य ब्यवसायी महासंघको केन्द्रिय पूर्व अध्यक्ष समेत हुन् । हाल तिवारी गोरखा–काठमाण्डौ सम्पर्क समितिको सचिवमा रहेका काम गरिरहेका छन् । काँग्रेसभित्र गुटको मौलाएको गुटको राजनीतिलाई तोड्न आफुले उम्मेदवारी दिएको तिवारी बताउछन् ।

‘गोरखा काँग्रेसलाई गुटरहित बनाउन आवस्यक छ, संगठनलाई चलायमान बनाउदै जनताको साथीका रुपमा काँग्रेसलाई चिनाउने योजना मसंग छ’ सिभिलखबरसंगको कुराकानीमा उनले भने ‘म मेरो कार्यकालमा नगर पार्टीको आफ्नै भवन बनाउने लक्ष्य लिएर आएको छु ।’

त्यस्तै अर्का आकांक्षी थापा वडा नम्बर १२ का स्थायी बासिन्दा हुन । काँग्रेसको भातृसंस्था नेपाल भूपूसैनिक संघको जिल्ला अध्यक्ष रहेका उनि वडा नम्बर १२ का वडाध्यक्ष समेत छन् । गुटको राजनीतिमा आफु विश्वास नगर्ने तर्क दिने थापा काँग्रेसभित्र धेरै विकृती रहेको समेत स्विकार्छन ।

‘पार्टीमा धेरै समस्या छन्, त्यसलाई चिर्न र संगठनलाई जनताको मन–मनमा पु¥याउनपनि नेतृत्वमा मेरो विकल्प छैन’ उनले थपे ‘मैले पदका लागि पद होइन, कामका लागि पद खोजेको हुँ ।’ साथै उनले आफ्नो कार्यकालमा भातृसंस्थाहरुलाई कृयाशिल बनाएर परिचालन गर्ने गरी योजना अघि बढाएको समेत बताए ।

गोरखा नगरकाे अधिवेशन आगामी भदाै २७ गते जिल्ला पार्टी कार्यालयमा हुने निर्वाचन समितिले जनाएकाे छ । तर अन्य केहि जिल्लाकाे वडा अधिवेशन समेत हुन नसकेकाले केहि दिन स्थानीय तहकाे अधिवेशन सर्न सक्ने आँकलन समेत गरिएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार