सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका एमालेका थप तीन सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।
आइतबार दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको प्रदेश कार्यालय धनगढीमा पुगेर सनाखत गराएका हुन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सामेल हुन चाहे भदौ २२ सम्म सनाखत गर्न समयसीमा तोकेको थियो । सोही अनुसार सुदूरपश्चिम प्रदेशसभामा रहेका एमालेका १० सांसदले यसअघि नै नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका थिए ।
आइतबार थप तीन जना सामेल भएसँगै नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा १३ सांसद भएका छन् भने अब एमालेमा १२ सांसदमात्र छन् । दल विभाजनपछि एमालेको तुलनामा नवगठित दल प्रदेशसभामा ठुलो देखिएको हो ।