गोरखा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु भएको छ । आज गोरखाका ९४ वटा वडामा वडा अधिवशेन हुँदैछ । २ नगरपालिका र ९ गाउँपालिका रहेका यहाँ ९४ वडा कार्यसमितिका लागि एक साथ निर्वाचन हुन लागेको हो ।
जस अनुसार वडा कार्यसमितमा एक सभापती, दुई उपसभापती, दुई सचिव र दुई सहसचिव सहित २२ जनाको कार्यसमिति निर्माण गरिने मुख्य निर्वाचन अधिकृत वेदबहादुर महतले जानकारी दिए । निर्वाचित सदस्यहरुबाट कार्यसमितिले कोषाध्यक्ष चयन गर्नेछ ।
यसैगरी कार्यसमिति सदस्यमा कम्तिमा ३ जना महिला सहित ९ जना र ६ जना समानुपातिक तर्फबाट छनौट गर्नु पर्नेछ । यसैगरी नगर वडा कार्यसमिति भने २७ सदस्सिय हुनेछ । गाउँपालिकाको वडामा जस्तै पदाधिकारीहरु भने समान रहने व्यवस्था छ ।
तर सदस्यहरु भने नगरमा केही धेरै रहनेछन । जसअनुसार प्रत्यक्ष निर्वाचनबाट ४ महिला सहित १२ जना र समानुपातीकबाट ८ जना निर्वाचित हुने प्रावधान रहेको उनले बताए ।
क्षेत्रिय प्रतिनिधिहरु भने क्रियाशिल सदस्यको अनुपातमा चयन गरिनेछ । यदी १५० वा सो भन्दा कम क्रियाशिल सदस्य भएमा प्रत्यक्षबाट ३ जना महिला सहित ९ जना क्षेत्रिय प्रतिनिधि छनोट हुनेछन् । समानुपाती तर्फ भने प्रत्यक्ष निर्वाचित संख्याको दुई तिहाई हुनेगरी विभिन्न कल्ष्टरहरुबाट ६ जना निर्वाचित हुने बताइएको छ ।
महिला, दलित, आदिवासी जनजाती, खस आर्य, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट ६ जना छानिनेछन । क्रियाशिल सदस्यलाई जनसंख्या मानी त्यसका आधारमा समानुपातीक प्रतिनिधत्व गराउनु पर्ने निर्वाचन अधिकृत महतले बताए । वडाध्यक्ष भने स्वतः गरी १६ जना प्रतिनिधिमा छानिनेछन् ।
यदि १५० भन्दा धेरै क्रियाशिल सदस्य भएमा प्रति सय क्रियाशिल सदस्य बराबर थप १० जना क्षेत्रिय प्रतिनिधि चयन गरिनेछ । जसमा २ जना महिला सहित ६ जना खुल्ला र त्यसको दुई तिहाई हुने गरी ४ जना समानुपातीक रुपमा प्रतिनिधि चयन हुने प्रावधान छ । प्रति एक सय क्रियाशिल सदस्यमा थप १० प्रतिनिधि चयन गर्न सकिने छ तर ७५ भन्दा बढि नघाउन पाइने व्यवस्था गरिएको उनले बताए ।
जिल्लाका ११ वटा स्थानीय तहमा गरी झण्डै १२ हजार क्रियाशिल सदस्य छन् । ती मध्येबाट आजकाे वडा अधिवेशनबाट झण्डै १ हजार ७०० क्षेत्रिय प्रतिनिधि निर्वाचिन हुनेछन् । वडा अधिवेशन सकिएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार पालिका, प्रदेश सभा, प्रतिनिधि सभा, जिल्ला, प्रदेश र केन्द्रिय कार्यसमितिको निर्वाचन गर्ने नेपाली काँग्रेसको कार्यतालिका छ ।