• बिहिबार, साउन १४ २०८३

गण्डकी प्रदेशमा कति छ एमालेको सम्पत्ति ? (विवरणसहित)


बुधबार, भाद्र १६ २०७८
805
Shares

एमाले देशको सबैभन्दा धनी पार्टी हो, ऊसँग केन्द्रदेखि जिल्लासम्म मात्र होइन, विदेशमा पनि सम्पत्ति छ । दल विभाजन हुँदा सम्पत्तिमा लाग्ने दाबीबारे स्पष्ट कानुनी व्यवस्था नभएकाले सरोकारवालाले फरक–फरक व्याख्या छन् । 

दल दर्ता गरेर छुट्टिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले सम्पत्तिमा कानुनी दाबी गर्ने आधार खोज्न थालेको छ । एमालेले भने फुटेको दलले चल–अचल कुनै पनि सम्पत्तिमा दाबी गर्ने कानुनी आधार नरहेको निष्कर्षसहित देशभर पुनः अभिलेखीकरणका लागि काम अगाडि बढाएको छ । 

हेर्नुस नेकपा एमालेकाे गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा भएकाे सम्पत्तीकाे विवरण

१. गोरखा : नेकपा एमालेको नाममा घरजग्गा छैन । सदरमुकामको चाइनिज धारामा मदन–आश्रित स्मृति प्रतिष्ठानको नाममा तीन रोपनी जग्गा छ । त्यसमा बनाइएको दुईतले पक्की भवनमै पार्टी कार्यालय चलेको छ ।  

२. लमजुङ : सदरमुकाम बेँसीसहरमा ११ आना जग्गामा दुईतले पक्की भवन छ । बैंक खातामा पैसा छैन ।

३. मनाङ : घरजग्गा छैन । सदरमुकाम चामेमा भाडाको घरबाट पार्टी कार्यालय चलाइएको छ । बैंक खातामा बचत पनि छैन । 

४. तनहुँ : व्यास नगरपालिका– ३ दमौलीमा १० आना जग्गामा तीन तलाको पक्की भवन छ । बैंक खातामा चार हजार रुपैयाँ बचत छ ।

५. कास्की : पोखरा महानगरपालिका– ९ शान्ति वनवाटिकानजिक सात आना जग्गामा अन्डरग्राउडसहित तीनतले भवन छ । यही भवनमा पार्टी कार्यालय छ । बैंक खातामा १० लाख रुपैयाँ बचत छ । पोखरा– २१ मा पुष्पलाल स्मृति भवन प्रतिष्ठानको नाममा ६ आना जग्गा छ । त्यहाँ दुईतले पक्की भवन बनाइएको छ । यो घरजग्गाको चलनचल्ती मूल्य करिब एक करोड पर्ने अनुमान छ । 

६. पर्वत : सदरमुकाममा मदनआश्रित स्मृति प्रतिष्ठानको नाममा करिब पाँच आना जग्गा छ । यही जग्गामा जिल्ला पार्टी कार्यालय बनाइएको छ । जिल्ला पार्टीका संस्थापक नेता तोयनाथ चालिसेले २० वर्षअघि सो जग्गा निःशुल्क दिएका थिए ।

७. म्याग्दी : सदरमुकाम बेनीमा सात आना जग्गामा बनेको दुईतले भवन छ । जिल्ला पार्टीको नाममा बैंकमा पैसा छैन । बरु, ३५ लाख रुपैयाँ ऋण छ । 

८. बाग्लुङ : बाग्लुङ नगरपालिका– ३ देउराली चोकमा आठ आना जग्गा छ । पार्टी कार्यालय भने भाडाको घरमा राखिएको छ । बैंक खातामा पाँच लाख रुपैयाँ बचत छ ।

९. नवलपरासी पूर्व : पार्टी कार्यालयको नाममा घरजग्गा छैन । कावासोती नगरपालिका हलचोकमा भाडाको घरमा मासिक १५ हजार तिरेर पार्टी कार्यालय चलेको छ । संघीयता कार्यान्वयनका क्रममा विभाजित नयाँ जिल्ला भएकाले पुरानो नवलपरासीको खातामा रहेको केही रकम पछि ल्याइने अध्यक्ष रोशन गाहामगरले बताए । 

१०. स्याङ्जा : जिल्ला सदरमुकाममा तीन आना जमिनमा बनेको तीनतले पक्की भवन छ । बिरुवा गाउँपालिकामा आधा रोपनी जमिनमा २० लाख लागतमा गाउँ कमिटी भवन बनाइएको छ । फेदी खोलामा पनि घरजग्गा छ । बैंक खातामा करिब पाँच लाख रुपैयाँ बचत रहेको जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे पारसले जानकारी दिए । 

११. मुस्ताङ : जिल्ला समन्वय समितिका उपप्रमुख राजेन्द्र शेरचनको घरमा एउटा कोठा भाडामा लिएर पार्टी कार्यालय सञ्चालन भइरहेको छ । बैंक खातामा एक लाख रुपैयाँ बचत छ ।

याे खबर आजकाे नयाँपत्रिकामा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार