पाेखरा । अध्यक्ष छनाेटविनै नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालकाे राष्ट्रिय भेला सकिएकाे छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले अध्यक्षविनै २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।
हरेक प्रदेशकाे राजधानी र केन्द्रमा काठमाण्डाैबाट भर्चुअल मार्फत आयाेजना गरिएकाे राष्ट्रीय भेलाबाट चयन भएका सदस्यहरुबाट नै अध्यक्षसहितका पदाधिकारी चयन गर्नेगरी भेला सकिएकाे केन्द्रिय सदस्य सुदिप नगरकाेटीले सिभिलखबरलाई बताए ।
गत शनिबारबाट शुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुवोध श्रीपाइली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गरेका छन् । तर सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने गरी नयाँ केन्द्रीय कार्य समिति राष्ट्रिय भेलाले चयन गरिएको हो ।
नयाँ केन्द्रीय समितिमा २३ जना भने समितकाे बैठकबाट पछि मनोनित हुनेछन् । वाईसीएलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित बताइएकाे छ ।
केन्द्रिय समितीमा गोरखाबाट ३ जनाकाे प्रतिनिधित्व
मंगलबार सकिएकाे भेलाबाट वाइसिएलकाे केन्द्रिय समितीमा गोरखाका ३ जना चयन भएका छन् । जसमा वाइसिएलका गोरखा इन्चार्ज समेत रहेका सुदिप नगरकाेटी, जिल्ला सदस्यद्धय लक्ष्मी रम्तेल र गुणराज खनाल केन्द्रिय सदस्यमा चयन भएका हुन ।
नगरकाेटी र रम्तेल यसअघि समेत केन्द्रिय सदस्य रहेका थिए भने खनाल पहिलाे पटक केन्द्रिय सदस्यमा चयन भएका हुन् । भेलामा गोरखा जिल्लाबाट ६ जना प्रतिनिधीका रुपमा सहभागी रहेका थिए ।
यता १३ बर्षदेखि वाइसिएलकाे लगातार केन्द्रिय सदस्यकाे भुमिकामा रहदै आएका सुदिप नगरकाेटीले भने आफ्नाे दावी केन्द्रिय सचिवमा रहेकाे बताएका छन् । भेलाबाट केन्द्रिय सदस्य चयन भएका उनले आफु सचिवका लागि याेग्य रहेकाे र आगामी प्रकृयामा साेही अनुसार अगाडी बढ्ने याेजनामा रहेकाे बताएका हुन ।