लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले निष्कासनको कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको छ ।
सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।
सचिवालयले एमालेलाई पठाएको जवाफी पत्रमा अजय शाही निर्वाचनमा स्वतन्त्र समूहबाट सहभागी भएको र उनको व्यक्तिगत विवरणमा पनि स्वतन्त्र समूहको तर्फबाट प्रदेशसभा सदस्य रहेको उल्लेख भएको कारण उनलाई पदमुक्त गर्न नमिल्ने उल्लेख छ । पत्रमा सांसद विमला वलीको हकमा एमाले र माओवादी केन्द्र दुवैले अनुसूची ७ को फारममा आफ्नो सदस्य रहेको विवरण लेखेका छन् भने अजय शाहीको हकमा भने एमालेले आफ्नो सदस्य रहेको विवरण सचिवालयमा बुझाएको थियो ।
एमालेले प्रदेश सरकारमा सहभागी अजय शाही र उपनिर्वाचनबाट प्रदेशसभा सदस्यमा विजयी विमला खत्री वलीलाई पार्टीले कारवाही गरेको विवरणसहित सो बमोजिम उनीहरुलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो ।