काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छिन् ।
बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपभोग गर्न दिने गरी आफूले तयारी अगाडि बढाएको बताइन् ।
विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महसुल पनि कम गर्ने गरी आफुले तयारी गरिरहेको उनले जानकारी दिइन् । उनले गरिबीको रेखामुनि भएका आधारभूत जनतालाई आफुले निशुल्क विद्युत दिन गरिरहेको तयारी करिब करिब निष्कर्षमा पुगेको बताइन् ।
ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाई पुर्याउनको निम्ति पनि आफू क्रियाशिल रहने बताइन् । सिँचाइको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने बताइन् ।
सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको उहाँले उल्लेख गरिन् ।
उनले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनका अध्ययन गरिरहेको पनि बताइन् ।