लुम्बिनी प्रदेशका ३ जना मन्त्रीको सांसद पद गएको छ । जनता समाजवादी पार्टी(जसपा)बाट निलम्बित मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे सांसद पदबाट मुक्त भएका हुन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार सूचना जारी गर्दै उनीहरु पदमुक्त भएको जानकारी दिएका हुन् ।
पाटीको नीतिविपरीत शंकर पोखरेल नेतृत्वको एमाले सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई पार्टीले निष्कासन गरेको हो ।
यसअघि पार्टीको पत्र अनुसार वैशाख १६ गते नै प्रदेश सभा सदस्यबाट निष्कासन गरिएको भए पनि सर्वोच्च अदालतले उनीहरूलाई पुनर्बहाली गरेको थियो।
प्रदेशसभा सदस्यबाट निष्कासन भएपछि अदालत गएका उनीहरूको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
मुद्दाको सुनुवाइको लागि भदौ १७ गते पेशी तोकिएकोमा पुनः तीनै जनालाई प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको हो।
