राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो युद्ध संग्रहालयको उद्घाटन गरेकी छन् ।
बिहान हेलकप्टर चढेर सिन्धुलीगढी पुगेकी राष्ट्रपति भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् ।
कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्ध संग्रहालय निर्माण गरेको हो। २०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो।
६ करोड ५० लाख रूपैयाँको लागतमा निर्माण भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ। संग्रहालयमा वीर योद्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियारलगायत राखिएका छन्।
यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले विसं १८२४ असोजमा मातृभूमिको सुरक्षा र अखण्डताका लागि अङ्ग्रेज सेनालाई परास्त गर्ने चार वीर योद्धाको शालिक अनावरण गरेका छन्।
सिन्धुलीगढीमा भएको युद्धमा नेपालले इष्टइन्डिया कम्पनीको अङ्ग्रेज सेनालाई परास्त गरेको थियो।
ऐतिहासिक युद्धस्थलमा आज आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले १८२४ को युद्धमा फिरङ्गी शत्रुलाई परास्त गर्ने काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, शिकारी अफिसर वंशी गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको शालिक अनावरण गर्नुभएको हो।
सङ्ग्रहालयमा अङ्ग्रेज सेनासँगको युद्धका महत्वपूर्ण हातहतियार तथा दस्तावेज सङ्ग्रह गरिएको छ।