पोखरा । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद बिस्तारको तयारी छ। जेठ २९ मा मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका थिएनन्।
उनले कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङलाई भने यसअघि नै मन्त्री बनाइसकेका थिए।
गण्डकीमा शुक्रबार दिउँसो मन्त्रिमण्डल बिस्तार गर्ने कार्यक्रम छ। माओवादीबाट थप ३ जना मन्त्री हुँदैछन्।
अर्थ मन्त्रीमा माओवादीले रामजी बराललाई पठाउने भएको छ। वन मन्त्रीमा दीपक चर्ती मगर र कृषि मन्त्रीमा चन्द्रबहादुर बुढाले सपथ लिने तयारी छ। यसअघि माओबादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मधुमाया अधिकारी नियुक्त भएकी थिइन्।
कांग्रेसले भने अहिलेसम्म मन्त्री टुंगो लगाउन सकेको छैन। तर कांग्रेसले राख्ने मन्त्रालय भने टुंगिएको छ। कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय आफूसँगै राख्ने भएको छ।
गण्डकीमा नेकपा एमालेबाहेक अरू दलको गठबन्धनबाट सरकार बनेको छ। मुख्यमन्त्री नेपालीलाई विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चा भने सरकारमा गएको छैन।