Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका हुन् ।
कोभिड— १९ को महामारीका कारण हाम्रा सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर हर्षोल्लासका साथ मनाउन कठिनाइ भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोभिड— १९ को प्रभाव नपरोस् भनी स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन सबैमा अनुरोध गरेका छन् ।
प्रधानमन्त्री देउवाले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् भन्ने कामना गरेका छन् ।
यता नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले पनि शुभकामना सन्देश जारी गरेका छन् । नेपाल जस्तो बहुधार्मिक र बहुसांस्कृतिक देशका लागि यस्ता पर्वहरू आफैंमा निधि भएको भन्दै नेता नेपालले यसले पारस्परिक सम्मान, मेलमिलाप, भ्रातृत्व र सामाजिक सदभावको विकास गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।रासस