• बुधबार, साउन १३ २०८३

संसद पुर्नस्थापनासंगै देउवालाई प्रधानमन्त्री नियुक्तीका बारे के भन्छन् गोरखाका दल ?


सोमबार, असार २८ २०७८
780
Shares

माेहसिन अलि मियाँ
गोरखा ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले सोमबार दिउँसो प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै पुनर्स्थापनाकाे फैसला सुनाएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिश गरेका थिए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सो निर्णयलाई बदर गर्नुको साथै संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमान्त्रीमा नियुक्ति गर्न परमादेश समेत जारी गरेको छ।

यस बिषयमा के भन्छन् गोरखामा राजनीतिक दल ?

मुलुक मुडभेडमा जाने आवस्था आयो : प्रेम गुरुङ, नेकपा एमाले (ओली समुह)

सर्वोच्च अदालतको फैसलाका कारण मुलुक मुडभेडमा जाने आवस्था सृजना भएको नेकपा एमाले गोरखाका अध्यक्ष प्रेम गुरुङले बताएका छन् ।

ओली समुहसंग निकट रहेका अध्यक्ष गुरुङले संविधानको मर्म र भावना विपरित अदालतको फैसला आएको दावी समेत गरेका छन् । ‘प्रधानमन्त्री संसदले बनाउने कि सर्वोच्चले ?’ प्रतिप्रश्न गर्दै उनले अदालतले गलत नजिर बसालेको जिकिर गरेका छन् ।

राजनीतिक दलसंग कुनै सरोकार नराख्ने गरी आएको फैसला एमालेका लागि अमान्य हुने भन्दै अध्यक्ष गुरुङले देश घेराबन्दीमा परेको दावी समेत गरेका छन् ।

त्यस्तै उनले पञ्चायतको परिस्थिती भन्दा पनि बढी जरजर खालको अवस्था सृजना हुनु नेपाल र नेपालीका लागि दुर्भाग्य भएको बताए ।

सर्वोच्चको फैसला स्विकार गर्नुको विकल्प छैन : यादव बस्नेत, नेकपा एमाले (माधव नेपाल समुह)

नेकपा एमाले (माधव नेपाल समुह) का गोरखा अध्यक्ष यादव बस्नेतले सर्वोच्च अदालतको फैसलालाई शिरोधार्य गर्नुको विकल्प नरहेको बताएका छन् ।

सिभिलखबरसंगको कुराकानीमा बस्नेतले ओलीको कृयाकलाप लोकतन्त्र र संविधान विपरित रहेको भन्दै आफ्नो समुहले त्यसका विरुद्ध वकालत गर्दै आएको बताए । संवैधानिक हिसाबले अघि बढ्न सुझाव दिदा माधव नेपाल समुहलाई ओलीले वाइपास गरेको दावी गर्दै बस्नेतले ओलीकै कारण नेकपा र एमाले तहसनहस बनेको जिकिर गरे ।

प्रधानमन्त्रीको हर्कतलाई राष्ट्रपतिले समेत मान्यता प्रदान गर्नु दुर्भाग्य भएको उनको तर्क छ । संविधान जोगाउनु आजको पहिलो प्राथमिकता रहेको भन्दै उनले सर्वोच्चले गरेको फैसला अनुसार शेरबहादुर देउवालाई आफ्नो समुहले प्रधानमन्त्री मान्न तयार रहेको समेत उनले बताए ।

अदालतले देश दुर्घटना हुनबाट बचायाे : नन्दप्रसाद न्यौपाने, नेपाली काँग्रेस
न्यायालयले देश दुर्घटनाबाट जोगाएको नेपाली काँग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेले बताएका छन् ।

सर्वोच्च अदालतको फैसलाका बिषयमा सिभिलखबरलाई प्रतिकृया दिदै सचिव न्यौपानेले केपी शर्मा ओलीको कदमलाई बदर गरेर अदालतले देशलाई दुर्घटना हुनबाट बचाएको दावी गरे ।

सोमबारको फैसलाले सर्वोच्च अदालतको संवैधानिक सर्वोच्चतालाई मजबुत बनाएको भन्दै उनले न्यायालयप्रतिको सम्मान झनै बढेर गएको जिकिर गरे । ओलीको कदम कुनै पनि दृष्टिकोणबाट देश र जनताको पक्षमा नरहेको दावी गर्दै उनले सर्वोच्चले विधीको शासन कायम गरेको बताए ।

जनताले दिएको झण्डै दुई तिहाई मतलाई कम्युनिष्ट पार्टी र ओली सरकारले लत्याएर देशलाई समस्याको भुमरीमा फसाएको भन्दै सचिव न्यौपानेले देशको निकास काँग्रेसले मात्रै दिन सक्ने दावी गरे ।

पटक पटकको ओली हर्कतकाे हार : लेखबहादुर थापा, नेकपा माओवादी केन्द्र

सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको हर्कत पराजय भएको नेकपा माओवादी केन्द्र गोरखा जिल्ला अध्यक्ष लेखबहादुर थापा मगरले बताएका छन् ।

ओलीले पटक पटक बिभिन्न चरण र रुपमा अपनाएका असंवैधानिक कदमलाई सर्बोच्च अदालतले सच्याइदिएको भन्दै उनले प्रतिनिधी सभा र लोकतन्त्रको विजय भएको समेत बताएका छन् । सिभिलखबरसंगको कुराकानीमा उनले ओली हर्कतलाई न्यायालयले समाप्त पारेको दावी गरे ।

त्यस्तै उनले अध्यक्ष प्रचण्डका कारण प्रतिगमनको जुनसुकै षड्यन्त्रको हार भएको जिकिर गर्दै आगामी प्रधानमन्त्रीका लागि काँग्रेस सभापति शेर बहादुर देउवालाई बधाई समेत ज्ञापन गरेका छन् ।

यथास्थितीवादीहरुको षड्यन्त्र फेल खायाे : नारायण खत्री, जनता समाजवादी पार्टी

संसद पुर्नस्थापनाको फैसलाले यथास्थितीवादीहरुको हार भएको जनता समाजवादी पार्टी गोरखाका अध्यक्ष नारायण खत्रीको भनाई छ ।

सर्वोच्च अदालतको फैसलाका बारे सिभिलखबरसंगको कुराकानीमा उनले नेपाल र नेपालीले विजयको महसुस गरेको बताए ।

जनताले दशौ बर्ष संघर्ष गरेर ल्याएको परिवर्तनलाई ओली सरकारले निस्तेज पार्ने प्रयत्न गरेको भन्दै खत्रीले त्यसलाई न्यायालयले समाप्त पारेको बताएका छन् । संविधान र लोकतन्त्रलाई सर्वोच्चले जोगाएको प्रतिकृया दिदै उनले ओलीका कारण देश समस्यामा फसेको आरोप समेत लगाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार