पोखरा । बिपि स्मृति भवनलाई नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) ले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयाेग प्रदान गरेका छन् । नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय रहनेगरी निर्माण गरिएको उक्त भवनलाई मल्लले यसअघि साे बराबरकाे रकम प्रदान गर्ने घोषणा गरेका थिए ।
शुक्रबार पार्टीको बैठकमा भवन निर्माण समितिका संयोजक एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई उक्त रकम मल्लले हस्तान्तरण गरेका हुन । पर्वतकाे जलजला गाउँपालिकाका अध्यक्ष समेत रहेका मल्लले ब्यक्तिगत रुपमा साे रकम सहयाेग गरेकाे बताएका छन् ।
यसअघि जलजला गाउँपालिकाको तर्फबाट मल्लकै सक्रियतामा २० लाख रुपैयाँ बिपि स्मृति भवनका लागि बिनियोजन भई सहयोग भएको थियो । नेपाली काँग्रेस पर्वतका कोषाध्यक्षसमेत रहेका मल्ल हरेक बिपत् र कठिन घडीमा पनि सहयोगका लागि अग्रसर रहदै आएका छन् ।
