काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको आठौं अधिवेशन बिहीबारबाट शुरु हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अपराह्न चार बजे अधिवेशन आहृवान गरेकी हुन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय गर्नेछ ।
यद्यपि, बैठकको प्रारम्भमा अधिवेशन आहृवान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ ।
त्यसपछि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छन्।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र सपथ सम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।

यस्तै उपप्रधानमन्त्री एवम् गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ अध्यादेश पेश गर्ने कार्यसूची छ।
साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने कार्यसूची छ।
यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, कोभिड—१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ अध्यादेश पेश गर्ने कार्यसूची छ।
