काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज भएको छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।


कमिटी बैठकले महाधिवेशनको मिती तोकी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो ।
तर सर्वोच्चले २७ जेठ २०७८ मा महाधिवेशन कमिटीलाई वैधता नदिने गरी फैसला गरेपछि एमालेले फेरि केन्द्रीय कमिटीलाई व्युँताएको छ ।
बैठकले पार्टी एकतामा रचनात्मक र सिर्जनात्मक योगदान गर्न नेता कार्यकर्तालाई आव्हान गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । प्रवक्ता ज्ञवालीका अनुसार केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको छ । साथै स्थायी कमिटीमा ८ नेता मनोनित भएका छन् ।जस मध्ये ४ जना पूर्वमाओवादीका नेताहरु रहेका छन् ।

साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनित गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
