रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप हुँदा ८ जना प्रहरी घाइते भएका छन्।
बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

झडपमा प्रदर्शनकारीको ढुंगामुढा प्रहारबाट नेपाल प्रहरी सई, असईसहित ५ जना र सशस्त्र प्रहरीका सई र असईसहित ३ जना गरी ८ जना प्रहरी घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी भरत श्रेष्ठले जानकारी दिए।
प्रदर्शनकारीतर्फ कतिजना घाइते छन् भन्ने खुलेको छैन। झडप नियन्त्रणमा लिन २३ राउण्ड अश्रूग्यास र १४ राउण्ड हवाई फायर गरिएको एसपी श्रेष्ठले बताए।
उनका अनुसार अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त छ।
मौलापुर नगरपालिकामा नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले ओली पक्षमा लागेका नेता प्रभु साहकी श्रीमती रिना कुमारी साह नगरप्रमुख छिन्।

नगरसभामा प्रमुख अतिथिका रुपमा प्रभु साह उपस्थित छन्। तनावका बीच मौलापुर नगरपालिकाले आफ्नो पाचौं नगरसभा भने सम्पन्न गरेको छ ।