पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोरोनविरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रद्धिबद्ध रहेको बताएका छन्।


पोखरा महानगरपालिकाको नवौं नगरसभामा बिहीबार उनले नागरिकको जीवन जोगाउन र उनीहरुको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने भनाई राखे।
संघ सरकारले अनुदानका रुपमा पाउने र खरिद गर्ने बाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत आफूहरुले अध्ययन गरिरहेको मुख्यमन्त्री पोखरेलले बताए।
संघीयताको आधारस्तम्भ स्थानीयतहलाई थप मजबुत र अधिकार सम्पन्न गराउन संघ र प्रदेश सरकार लाग्नुपर्ने उनले बताए।
उनले लोकतन्त्रको आधार स्तम्भ स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनु पर्ने बताएका हुन्।

उनले भने, ‘संविधानमा उल्लेखित साझा अधिकारका सूची कार्यान्वयनमा साझा दृष्टिकोण भने बनाउनु पर्नेछ। उनले विकास निर्माणका कार्य र राजश्वको योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र सहकार्य हुनु पर्ने बताए।
लोककल्याणकारी राज्यको अवधारणा अनुसार विकासले नागरिकको समृन्नती र गरिबी न्यूनिकरण गर्नुपर्छ भन्ने मान्यता सरकारले बोकेको भन्दै उनले सुशासन स्थापनालाई पनि प्राथमिकतामा राखेर अगाडि बढेको बताए।
