• बुधबार, साउन १३ २०८३

मनाङ्गमा फसेका मुख्यमन्त्री पाेखरा पुगे, आजै विश्वासकाे मत लिने


शुक्रबार, असार ४ २०७८
695
Shares

गोरखा । बाढी, पहिराे पिडितलाई राहत वितरण र उद्दार गर्न बिहिबार मनाङ्ग पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार बिहान पाेखरा पुगेका छन् ।

माैसममा खराबी आएसंगै बिहिबार मनाङ्गकाे चामेमै अड्किएकाे मुख्यमन्त्री पाेखरेलसहितकाे टाेली आज बिहानै सेनाकाे हेलिकप्टर मार्फत पाेखरा पुगेकाे हाे ।

उनि बिहिबार मनाङबाट आउन नसकेपछि आज शुक्रबार उनले संसदमा लिने भनिएकाे विश्वासकाे मतकाे तालिका के हुने भन्ने बारे धेरैकाे जिज्ञासा थियाे ।

यता बिहिबार साँझ सरकारका प्रवक्ता कुमारले विज्ञप्ती निकालेर मुख्यमन्त्री आउन नसकेकाे खण्डमा संसदकाे तालिकामा हेरफेर हुुने बताएका थिए । तर मुख्यमन्त्री शुक्रबार बिहानै पाेखरा पुगेस‌ंगै तालिकामा कुनै हेरफेर नहुने बताइएकाे छ ।

मुख्यमन्त्री पोखरेलले आजै शुक्रबार विश्वासको मत लिने छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव मंगलबार नै संसद सचिवालयमा दर्ता गराएका थिए । प्रदेश सभा सचिव हरिराज पोखरेलका अनुसार मुख्यमन्त्री पोखरेलले मंगलबार दिउँसो करिब ३ बजे प्रस्ताव दर्ता गराएका हुन् ।

शनिबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेललाई असार २८ सम्म विश्वासको मत लिनुपर्ने बाध्यता छ । संविधानको १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेलले १६८ (६) बमोजिम विश्वासको मत माग्ने प्रस्ताव दर्ता गराएका हुन् ।

४ दलीय गठबन्धनको साथमा पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया बढेको थियो ।

मुख्यमन्त्री पोखरेललाई कांग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जनता समाजवादीका २/२ र १ स्वतन्त्र सांसदको साथ छ । पोखरेललाई विश्वासको मत प्राप्त गर्न ३० सांसदको साथ चाहिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार