पोखरा । गण्डकी प्रदेशमा विपक्षी गठवन्धनले आजै सरकारको दाबी गर्न प्रदेश प्रमुखको कार्यालय जाने तयारी गरेका छन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार सरकारको दाबी गर्न आह्वान गर्ने वित्तिकै विपक्षी गठबन्धन सरकारको दाबी गर्न जाने तयारीमा लागेका हुन्।


विपक्षी गठबन्धनबाट प्रस्तावित मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आजै सरकारको दाबी गर्ने बताए।
प्रदेश प्रमुख पौडेलले सरकारको दाबी गर्न २४ घण्टा समय दिएकी छिन्।
संविधानको धारा १६८ उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका एमाले नेता पृथ्वीसुब्बा गुरुङले उपधारा ४ अनुसार बिहीबार विश्वासको मत पाएका थिएनन्।
संसद सचिवायले शुक्रबार उक्त जानकारी प्रदेश प्रमुखलाई दिए लगत्तै नयाँ सरकार गठनको आह्वान गरिएको हो। माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि आजै सरकार गठनको प्रस्ताव लिएर जाने तयारी गरेको बताए।

गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकूद मन्त्री रहेका राजिव गुरुङ ‘दीपक मनाङे’ले विपक्षी गठबन्धनलाई सघाउने घोषणा गरेर विश्वासको मत दिन गएका थिएनन्।
मनाङेको समर्थनबाट विपक्षी गठबन्धनलाई आवश्यक बहुमत ३१ पुग्छ।