• बुधबार, साउन १३ २०८३

जता बहुमत पुग्छ, उतै समर्थन गर्छु : दीपक मनाङे


बिहिबार, जेष्ठ २७ २०७८
600
Shares


पोखरा । गण्डकी प्रदेशका खेलकूद मन्त्री राजीव गुरूङ (दीपक मनाङे) ले बहुमत पुर्‍याउनेलाई आफूले साथ दिने बताएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्री गुरूङले विश्वासको मत लिने पूर्वसन्ध्यामा स्वतन्त्र सांसदसमेत रहेका गुरूङले विपक्षी गठबन्धनलाई साथ दिने संकेत गरेका हुन्।

उनले प्रदेश सभामा बहुमत जता पुग्छ उतै आफ्नो साथ रहने बताए। ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ चाहिन्छ।

नेपाली कांग्रेसलगायत विपक्षी दललाई बहुमत पुर्‍याउन १ सांसद आवश्यक छ। गुरूङले साथ दिने भएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीका पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ।

मन्त्री गुरूङले आफ्नो साथ बहुमत पुर्‍याउनेका पक्षमा रहने नेकपा एमालेका सांसदहरू महेन्द्र थकाली र इन्द्रधारा विष्टसँग भनेका थिए। बुधबार नै उनले उक्त कुरा भनेका हुन्। तर बिहीबार बिहान यसबारे बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन्।

मुख्यमन्त्री गुरूङका पक्षमा एमालेका २७ सांसद छन्।

संसद भंग हुन नदिन आफूले उक्त निर्णय गरेको मनाङेको भनाइ उदृत गर्दै थकालीले बताए।

गण्डकी प्रदेशमा मन्त्री मनाङेसहित प्रदेश सरकारको पक्षमा २९ र विपक्षमा ३० मत थियो। तर बहुमत जुटाउन ३१ मत आवश्यक पर्ने हुँदा सत्तापक्ष र विपक्ष दुबै गठबन्धन अल्पमतमा थियो।

मनाङेको उक्त निर्णयसँगै गण्डकीमा विपक्षी गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत पुग्ने देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार