• बुधबार, साउन १३ २०८३

गण्डकीमा मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा दर्ता


मंगलबार, जेष्ठ २५ २०७८
675
Shares

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगमी जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।

प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधानअनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

वैशाख २७ गते संसदमा अविश्वासको प्रस्तावमाथि मतदान हुनुभन्दा अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए ।

मुख्यमन्त्रीको राजीनामापछि संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत दाबी गरेर सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेकी थिइन् ।

विपक्षीले बहुमत पुग्ने दाबी गरेको भए पनि जनमोर्चाका सांसद कृष्ण थापाले हस्ताक्षर गर्न अस्वीकार गरेको र अर्का जनमोर्चाका सांसद खिम विक्रम शाहीले हस्ताक्षर दुरुपयोग भएको विज्ञप्ति निकालेपछि विपक्षीको दाबीलाई प्रदेश प्रमुखले अस्वीकृत गरेकी थिइन् ।

कुनै पनि दलले बहुमत दाबी गर्न नसकेको भन्दै संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा रहेको एमाले संसदीय दलको नेताका हैसियले मुख्यमन्त्रीमा फेरि गुरुङ नियुक्त भएका थिए । त्यही धाराको उपधारा ४ बमोजिम मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिन लागेका हुन् ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्रीको दल नेकपा एमालेसँग २७ सांसद छन् भने स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन पनि एमालेलाई छ । मुख्यमन्त्रीले विश्वासको मत लिन थप ३ मत आफ्नो पक्षमा पार्नुपर्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाको ३, जनता समाजवादी पार्टीका २ सांसद छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार