
गोरखा । जिल्लाका केहि नीजि विद्यालयले अनलाइन परिक्षाको नाममा अतिरिक्त शुल्क लिएको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गोरखाले विरोध जनाएको छ ।
बुधबार एक प्रेस वक्तब्य जारी गर्दै अनेरास्ववियुले यस्तो असहज परिस्थितीमा समेत अनलाइन परिक्षाका नाममा सदरमुकामका केहि नीजि स्कुलहरुले शुल्क तिर्न अभिभावकहरुलाई बाध्य बनाइएको भन्दै बिरोध जनाएको हो ।
अनेरास्वयुवियुका जिल्ला अध्यक्ष सचिन भट्टराईद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ ‘अनेरास्ववियु गोरखालाई प्रमाणसहित सूचना प्राप्त भएअनुसार गोरखा सदरमुकाममा सञ्चालित केहि नीजि स्कुलले अनलाइन परिक्षाका नाममा अतिरिक्त शुल्क लिइरहेको जानकारी प्राप्त भएकाले यस्तो निषेधाज्ञाका समयमा पनि विद्यार्थी अभिभावकको ढाड सक्नेगरी आर्थिक, मानसिक दवाव दिएको घटनाले हामीलाई अत्यन्तै गम्भिर बनाएको छ ।’
नेकपा एमाले (माधव-झलनाथ समुह) निकट विद्यार्थी संगठनले विज्ञप्ती मार्फत चार बुदे माग समेत राखेको छ ।
जसमा अनलाइन परिक्षाको नाममा लिइएको रकम तत्काल फिर्ता गर्नुपर्ने, निषेधाज्ञाका समयमा समेत भौतिक रुपमा उपस्थित भएर अभिभावकलाई मासिक शुल्क तिर्न बाध्य नबनाउन, शुल्क तिर्न दिइएको अल्टिमेटम फिर्ता लिन र आगामी दिनमा आउन सक्ने महामारीको समयमा कुनै प्रकारका दवाव सृजना नगर्न माग गरेको छ ।
अनलाइन परिक्षाका नाममा अतिरिक्त शुल्क पठाइरहेको बारे सोमबार सिभिलखबरले समाचार प्रकाशन गरेको थियो । सो बिषयमा मंगलबार एक अपिल प्रकाशित गर्दै प्याब्सन गोरखाले समेत त्यस्ता कार्य नगर्न र नगराउन जिल्लाका सम्पूर्ण नीजि विद्यालयलाई आग्रह गरिसकेको छ ।
त्यस्तै शुल्कको बिषयमा बराहस्थित फुलबारी पाठशालालाई गोरखा नगरपालिकाकाे शिक्षा शाखाले मौखिक स्पष्टिकरण समेत सोधि परिक्षाका नाममा लिइएको शुल्क तत्काल फिर्ता गर्न निर्देशन दिइसकेको जनाएको छ ।
हेर्नुस अनेरास्ववियुकाे वक्तव्य
