• आइतबार, असोज ११ २०८३

आज सरकारले अध्यादेशबाटै बजेट सार्वजनिक गर्ने


शनिबार, जेष्ठ १५ २०७८
600
Shares

चौतर्फी विरोधका बीच सरकारले अन्ततः अध्यादेशबाटै आज पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ।

संसद् भंग गरिएको संकटपूर्ण घडीमा अध्यादेशबाट बजेट ल्याउन नहुने भनेर विपक्षी दललगायत विभिन्न पक्षबाट खबरदारी भइरहेका बेला सरकारले बजेट सार्वजनिक गर्न लागेको हो।

बजेटमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधि सभा र वैशाखमा हुने स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक पुनरुत्थान प्याकेज, वृद्धभत्ता वृद्धिका कार्यक्रम समेटिएको अर्थ मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्।

अर्थ मन्त्रालयको गृहकार्यअनुसार १६ खर्ब रुपैयाँ हाराहारीको बजेट सार्वजनिक गर्ने तयारी छ।

शनिबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अर्थमन्त्रीले बजेट भाषण गर्ने तयारी छ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीका अनुसार आर्थिक वर्ष २०७८/७९ को बजेट अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक गर्ने कार्यक्रम छ।

जेठ १५ गते (आज) बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ। बजेट प्रतिनिधि सभाबाट ल्याउनुपर्ने व्यवस्था भए पनि अहिले त्यो विघटन भएकाले सरकारले अध्यादेशमार्फत ल्याउन लागेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार