कोरोना संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको हो ।

उनलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो । संक्रमण पछि काठमाडौँमा उपचार गराइरहेका मल्लको हिजो राति ११ बजेतिर मृत्यु भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे ।
निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको बिहीबार अन्त्येष्टि गरिने बताइएको छ । पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका उनी काँग्रेसमा प्रवेश गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा उनी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका थिए । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।

त्यसको करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारले मल्लसहित सबै प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको थियो ।