• आइतबार, असोज ११ २०८३

गोली प्रहारबाट घाइते भएका माओवादी नेता पाण्डेको मृत्यु


मंगलबार, जेष्ठ ११ २०७८
740
Shares


गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ ।

पाँच दिनअघि गोली प्रहारबाट गम्भीर घाइते भएका पाण्डेको सोमबार राति निधन भएको हो ।

अवस्था गम्भीर भएपछि हेलिकप्टरमा काठमाडौं पुर्याएको एक घण्टामा नै सोमबार राति पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेका थिए ।

पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमबार राति ८ बजे हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो ।

प्रहरीले उनीहरुमाथि आक्रमण गरेको आरोपमा २ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली छन् ।

पाखुरामा एउटा गोली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य छ । उनी उपचारपछि घर फर्केका छन् ।

व्यक्तिगत रिसिइबीका कारण पाण्डेमाथि गोली चलाएको अभियुक्तले बयान दिएको डीएसपी भण्डारीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार