पोखरा । गण्डकी प्रदेश सभा सांसद राजिव गुरुङ ‘दीपक मनाङ’ले पुन आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मनाङेलाई आइतबार युवा तथा खेलकुद मन्त्रीको सपथ खुवाएकी हुन्। यसअघि वैशाख १६ गते मनाङे युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए।
पहिलो पटक मन्त्री नियुक्त भएका मनाङेले त्यतिबेला यो सरकार दुई साता पनि नटिक्ने बताएका थिए। नभन्दै वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएपछि उनको मन्त्री पद पनि १० दिनमै गएको थियो।


ठूलो दलको नेताको हैसियतमा प्रदेश प्रमुख पौडेलले पुनस् मुख्यमन्त्रीमा गुरूङलाई नै नियुक्त गरेका थिए। मुख्यमन्त्री नियुक्त भएको साता दिनपछि गत बिहीबार गुरूङले मन्त्रिपरिषद् विस्तार गरेका थिए।
उनले पुरानै ५ जना मन्त्री नियुक्त गरेर बिहीबार नै अन्य मन्त्रीले सपथ लिए पनि मनाङे काठमाडौं भएकाले छुटेका थिए।
मन्त्रीको सपथ लिनासाथ मनाङे युवा तथा खेलकुद मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्।
