काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभाको विघटनभन्दा अहिले जेठ ८ गते गरेको विघटन गम्भीर भएको बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले जेठ ८ गते गरेको विघटन गम्भीर भएको भन्दै तीन कारण दिएका छन्। डा. भट्टराईले दिएका तीन कारण यस्ता छन् —
उनी लेख्छन् : जेठ ८ को प्रतिक्रान्तिकारी हर्कत पुस ५ को भन्दा गम्भीर छ। किनकि १. कोरोनाको दोस्रो लहर चर्केको बेला राज्यले नरसंहार गर्ने जनताले प्रतिरोध गर्न नसक्ने अवस्था छ। २. यो संसद् विघटन मात्र हैन, संविधान विघटन गर्ने गुरुयोजनाअन्तर्गत छ। ३. यसभित्र राष्ट्रघात छ,प्यादाहरू छन्। अतः एकताबद्ध प्रतिरोध गरौं।’


गत पुस ५ गते गरिएको संसद् विघटन सर्वोच्च अदालतले गत फागुन ११ गते पुनःस्थापना गरेको भए पनि प्रधानमन्त्री ओलीले यही जेठ ८ गते फेरि विघटन गराएपछि अहिले चौतर्फी विरोध भइरहेको छ।