काठमाडौं । नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैले दावी पेश गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ (५) बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित देउवा र ओली दुवैले दाबी पेश गरेका हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफू ठूलो दलको संसदीय दलको नेता भएकाले बहुमत पेश गर्ने पत्र गएराति नै राष्ट्रपतिलाई दिएका थिए।
त्यहि दाबी बमोजिम आज उनले सांसदको हस्ताक्षर बुझाएको स्रोतले बताएको छ। उनलाई गएराति नै जनता समाजवादी पार्टीका महन्थ–राजेन्द्र पक्षले बहुमत पुर्याउन आवश्यक पर्ने सांसदको हस्ताक्षर हिजै प्रधानमन्त्रीलाई बुझाइसकेको जनाएको छ।
यता विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गरेका छन् ।
हस्ताक्षर गर्नेमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र-बाबुराम समूहका १३ जना छन्।
नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ।