काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अहिल्यै वैकल्पिक सरकार दिनुपर्ने बताएका छन्।

संसद, संविधान र लोकतन्त्र रक्षा गर्न जे गरेर हुन्छ त्यही गरेर वैकल्पिक सरकार दिनुपर्ने भट्टराई बताउँछन्।
केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गर्न सबैले आवश्यक त्याग गर्नुपर्ने पनि भट्टराईको भनाइ छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई आज साँझ पाँच बजेसम्म संसदमा वहुमत सिद्ध गरेर वैकल्पिक सरकार गठनको लागि समय दिएकी छिन्।


राष्ट्रपतिले दिएको समयसीमाभित्रै वैकल्पिक सरकार गठनको लागि प्रतिपक्षी दलहरु आन्तरिक छलफलमा व्यस्थ भएको बेला पूर्वप्रधानमन्त्री भट्टराईले जसलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीलाई बिदा दिनुपर्नेमा जोड दिएका हुन्।
शुक्रबार ट्वीट गर्दै उनले भने ‘संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो, जे गरेर रक्षा हुन्छ त्यही गरौं । सबैले आवश्यक त्याग/बलिदान गरौं,’ उनले भनेका छन्, ‘लौरो उभ्याएर भए पनि ७६(५) को वैकल्पिक सरकार दिऊँ। आजै गरौं,अहिल्यै गरौं! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधानरलोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ।’
