

गोरखा । काेराेना संक्रमितलाई अस्पतालसम्म सहज रुपमा लैजानका लागि नेपाली कांग्रेसका गोरखा नगरसभापति चन्दनबाबु खत्रीले आफै चढ्ने गाडी गाेरखा नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।
बिहिबार नगरपालिकाकाे कार्यालयमा पुगेर खत्रीले नगरप्रमुख राजनराज पन्तलाई आफ्नाे नीजि गाडी हस्तान्तरण गरेका हुन ।

काेराेना भाइरसकाे दाेस्राे लहरकाे महामारी न्युनिकरण र राेकथाम गर्न नगरपालिकाकाे अभियानलाई सहयाेग गर्ने उदेश्यले आफुले चढ्दै आएकाे बा १६ च २००१ गाडी चालक सहित निशुल्क उपलब्ध गराएकाे खत्रीले सिभिलखबरलाई जानकारी दिए ।

नगर क्षेत्रका संक्रमितले एम्बुलेन्स नपाएर उपचारबाट बञ्चित हुने अवस्थालाई केहि हदसम्म यसले राेक्ने समेत उनकाे बिस्वास छ । ‘हामी जनताकाे पिडामा साथमै छाै’ सभापति खत्रीले भने ‘याे महामारीसंग जुध्न सरकार एक्लैले सक्दैन, हामी सबैले साथ दिन जरुरी छ ।’
साथै उनले गाडीकाे सदुपयाेग गरी पिडितकाे उद्धार र उपचारमा सहयाेग पुग्ने गरी सञ्चालन गर्न समेत नगरपालिकालाई अनुराेध गरेका छन् ।

यता गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले खत्रीकाे याेगदानकाे प्रशंसा गरेका छन् । ‘हामीसंग अहिले आफ्नै एम्बुलेन्स छैन, दुई वटा एम्बुलेन्स खरिदकाे प्रकृयामा छाै’ पन्तले भने ‘यस्ताे असहज परिस्थितीमा काँग्रेस नगर सभापतिले आफु चढेकाे गाडी दिएर काेराेना राेकथाम अभियानमा ठूलाे याेगदान दिनुभयाे ।’


साथै उनले नगरपालिकाले कुनै हालतमा गाडीकाे दुरुपयाेग नगर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । ‘यस्ताे बेला बिचार र वाद भन्दापनि ठूला कुरा सहयाेगकाे भावना हाे’ उनले भने ‘गाडी काेराेना राेकथाम र उपचारकाे अभियान बाहेक अन्त प्रयाेग हुदैन ।’
साथै नगरपालिकाले बिहिबारै उक्त गाडी स्वास्थ्य शाखालाई जिम्मा लगाएकाे छ ।

