• बुधबार, साउन १३ २०८३

राष्ट्रिय सभा उपनिर्वाचनमा विवेकशील साझाले भोट नहाल्ने


बिहिबार, जेष्ठ ६ २०७८
805
Shares


काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने भएको छ।

उपनिर्वाचनका उम्मेदवारबाट राष्ट्रिय सभामा अपेक्षाकृत भूमिका निर्वाह हुनेमा आश्वस्त पनि नभएको भन्दै विवेकशील साझा पार्टीले भोट नहाल्ने निर्णय गरेको हो ।

‘नो भोट’ लागू गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न उक्त पार्टीले माग गरेको छ।

बागमती प्रदेशसभामा विवेकशील साझा पार्टीका तीन जना सांसद छन् । तर, उनीहरूले आज मतदान नगर्ने भएका हुन्।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफू निर्वाचित भएको दल माओवादी केन्द्र त्याग गरी नेकपा एमालेमा प्रवेश गरेका कारण राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम राष्ट्रिय सभामा रिक्त हुन आएको बागमती प्रदेशबाट निर्वाचित हुने एक स्थानका लागि आज उपनिर्वाचन गर्न लागिएको हो ।

‘विवेकशील साझा पार्टी राष्ट्रिय सभामा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका बौद्धिक व्यक्तित्वहरूको उपस्थिति हुनुपर्दछ भन्ने मान्यता राख्दछ। कार्यपालिका (प्रधानमन्त्री) को चयनमा प्रत्यक्ष भूमिका नहुने सदन भएका कारण पनि राष्ट्रिय सभा सदस्यहरूले कतिपय अवस्थामा दलीय स्वार्थ भन्दा माथि उठी मुलुक र नागरिकको हितमा भूमिका खेल्न सक्नुपर्दछ भन्ने हामीलाई लाग्दछ,’ उक्त पार्टीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागू गर्न पनि सरकार तथा निर्वाचन आयोगसमक्ष माग गर्ने निर्णय भएको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार