काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ।

काठमाडौंको चपली हाइटस्थित रामेश्वर थापाको निवासमा बिहीबार दिउँसो प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता सुरू भएको हो।
आजै बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहित चार नेतालाई गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो।
तर नेपाल पक्षले २०७५ जेठ २ गतेकै संरचनाअनुसार पार्टी चल्नुपर्ने अडान राखेका छन्। उक्त निर्णयमा फर्कन अध्यक्ष ओलीलाई नेता नेपालले आज अपरान्ह ४ बजेसम्म समय दिएका छन्।

केही दिनयता ओली र नेपाल पक्षीय नेताहरुको विभिन्न चरणमा वार्ता र छलफल भइरहेका छन्।
ती भेटका क्रममा ओली पक्षीय नेताहरुले २०७५ जेठ २ को अवस्थामा आफूहरू फर्किन तयार रहेको बताएका थिए।
बिहिबार बिहान अर्थमन्त्री विष्णु पौडेल नेपालको निवास कोटेश्वरमा पुगेर जेठ २ मा फर्किन आफू तयार रहेको ओलीको सन्देश सुनाएका थिए। सँगै पौडेलले प्रधानमन्त्री ओलीले नेपाललाई भेट्न चाहेकोसमेत बताएका थिए।
