काठमाडौं । नेकपा एमालेका अध्यक्ष एंव काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक डाकेका छन्।

संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा ओलीले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकेका हुन्। बैठक अहिले जारी छ।
विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन कसरत गरिरहेको र एमालेमा नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने भनिरहेका बेला ओलीले स्थायी कमिटी बैठक डाकेका हुन्।
यसअघि वैशाख २७ गते प्रतिनिधि सभामा भएको मतदानमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका थिएनन्। विश्वासको मत गुमाएपछि उनी स्वतः पदमुक्त भएका थिए।

त्यसपछि राष्ट्रपति भण्डारीले दलहरूलाई मिलेर बहुमतको सरकार बनाउन आज साँझ ९ बजेसम्मको समय दिएकी थिइन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज साँझ ९ बजेसम्म संसदमा आफूहरूको बहुमत रहेको दाबी राष्ट्रपति समक्ष पेस गर्न नसके संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्।
