• बिहिबार, साउन १४ २०८३

गण्डकी प्रदेश : मुख्यमन्त्री चयन गर्न आज अन्तिम म्याद


बुधबार, बैशाख २९ २०७८
755
Shares


पोखरा । गण्डकी प्रदेशमा आज (वैशाख २९ गते) मुख्यमन्त्री को बन्ने भन्ने विषयमा छिनोफानो हुँदैछ।

यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको ३ दिनको समयसमीमा आज सकिने भएको हो।

गुरुङले गत आइतबार राजीनामा दिएका थिए। सोही दिन प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार दलहरूलाई नयाँ सरकार गठनको दाबी पेस गर्न आज दिउँसो ४ बजेसम्मको समय दिएकी हुन्।

यस समयभित्र विपक्षी दलहरूले बहुमत पुर्‍याई नयाँ मुख्यमन्त्रीको नाम पेस गर्न सक्नुपर्छ। अन्यथा प्रदेश सभामा सबैभन्दा धेरै सदस्य भएको दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति दिनुपर्ने हुन्छ।

त्यहाँ सबैभन्दा ठूलो दल एमाले हो भने त्यसका संसदीय दलका नेता यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हुन्।

विपक्षी दलले मंगलबार साँझसम्म पनि बहुमत पुर्‍याउन सकेका छैनन्। आज दिनभरमा कुनै चमत्कार भएन भने पुनः गुरुङ नै मुख्यमन्त्री हुने देखिन्छ।

कांग्रेसबाट त्यहाँ कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने तयारी छ। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले कांग्रेसलाई साथ दिन नसकिने बताएका छन्। उनी पार्टीको निर्णयविपरीत उभिएका हुन्।

६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन्। नयाँ सरकार गठन गर्न ३१ सांसद चाहिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार