गोरखा । नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केहीदिन भित्रै बहुमतको सरकार बन्ने ठोकुवा गरेका छन् ।

जिल्ला सदरमुकाम गोरखामा आइतबार पत्रकारहरुसंगको भेटमा केपी ओली अब सरकारमा नरहने दाबी गरेका हुन् ।
‘अध्यादेशबाट शासन गर्ने अहिलेको शासकिय शैलीका कारण पनि बर्तमान सरकारले संसदबाट बिश्वासको मत प्राप्त गर्नसक्ने अबस्था छैन,’ उनले भने ‘यो सरकारले भोली (सोमबार) बिश्वासको मत प्राप्त गर्न सक्दैन र छिटै नयाँ सरकार बन्छ ।’
प्रवक्ता श्रेष्ठले सरकारले कोरोना नियन्त्रण र रोकथाममा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउदै यही कारणले पनि यो सरकारले संसदमा बिश्वासको मत प्राप्त गर्नसक्ने अबस्था नरहेको बताए ।

पत्रकारहरुको जिज्ञासामा प्रबत्ता श्रेष्ठले काँग्रेस संसदिय दलका नेतालाई प्रधानमन्त्रीको रुपमा अगाडी बढाउने बिपक्षी गठबन्धनको निर्णय भएको समेत जानकारी दिए ।
उनले बिश्वासको मत लिने घोषणा गरेको सरकारले अध्यायदेश मार्फत संबैधानिक आयोगहरुमा गरिएका नियुक्ती गर्नु संबिधान बिपरित भएको भन्दै त्यसको बिरोध समेत गरे ।
श्रेष्ठले डिसिसिएमसीको बैठकमा सहभागी भएर जिल्लामा कोरोना संक्रमणको अवस्था र त्यसको तयारीको बारेका जानकारी दिएका थिए ।
