
गोरखा । गोरखामा ट्याक्सी, इको भ्यान लगायतका सवारी साधान सञ्चालन गरिरहेको गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा सुरेन लामिछाने निर्वाचित भएका छन् ।

शनिबार गोरखा सदरमुकाममा प्रालिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लामिछाने अध्यक्षमा चयन भएका हुन ।


अधिवेशनमा अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्षका लागि भने निर्वाचन भएको थियो । उनले हालका अध्यक्ष समेत रहेका जिवन खड्कालाई २० भोटको अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
७१ जना सदस्य रहेको प्रालिमा ४५ मत लामिछाने र २५ मत खड्को पक्षमा खसेको थियो भने १ मत बदर भएको थियो । प्रालिको आगामी २ बर्षे कार्यकालका लागि लामिछानेको अध्यक्षतामा ७ सदस्यिय कार्यसमिति चयन भएको छ ।


जसको उपाध्यक्षमा सुमन श्रेष्ठ, महासचिवमा सुमन कार्की, कोषाध्यक्षमा देवेन्द्र जंग कुवँर सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजु श्रेष्ठ, शंकर नेपाली र नुर प्रसाद भट्ट चयन भएका छन् ।
अध्यक्ष जिवन खड्काको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनरनज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।
