गोरखा । नेपाल पत्रकार महासंघ गोरखाले शुभकामना आदनप्रदान तथा बधाई ज्ञापन गरेको छ । नयाँ वर्षको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै गोरखा शाखाले जिल्लाबाट गण्डकी प्रदेशमा निर्वाचित पदाधिकारीलाई सम्मान समेत गरेको हो ।

नेपाल महासंघको गण्डकी प्रदेश सचिवमा निर्वाचित शुशिलबाबु श्रेष्ठ ‘कैलास’ र कोषाध्यक्षमा निर्वाचित राजेन्द्र न्यौपानेलाई दोसल्ला ओढाएर सम्मान गरिएको पत्रकार महांसघका जिल्ला सचिव बिकास मरहट्टाले जानकारी दिए ।
जिल्ला अध्यक्ष नरहरी सापकोटाको अध्यक्षता तथा पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अशोककुमार गुरुङ्ग, उपप्रमुख जानुका अधिकारी, गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदिप काफ्ले, नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु सिवाकोटी, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहभागी जिल्लाका सरोकारावाला निकायका प्रमुख एवं प्रतिननिधिले लोकतन्त्र, बिधिको शासन र मानव अधिकारलाई केन्द्रमा राखेर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । यसैविच नेपाल लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखाले पनि पत्रकार महासंघको नयाँ कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ ।
संघको कार्यालयमा आयोजित एक कार्यक्रमका वीच अध्यक्ष मिनाकुमारी गुरुङ, संरक्षक रामचन्द्र अर्याल र गण्डकी प्रदेश सदस्य शिव केसीले सयुक्त रुपमा खादा लगाएर सम्मान व्यक्त गरेका थिए । सो अबसरमा बोल्दै उनीहरुले जिल्लाको लोक संस्कृतीको जर्गेना, कलाकार एवं लोक संगितको प्रवद्र्धनमा कलम चलाईदिन आग्रह गरेका छन् ।

यसैगरी नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेस गोरखाले पनि नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको छ । संघका अध्यक्ष सरद श्रेष्ठले पत्रकारहरु पनि श्रमजिवि भएकाले सबै श्रमजिवीहरु एक भएर पेशागत हकहितमा आवाज उठाउनु पर्नेमा जोड दिए ।
छुट्टाछुट्टै रुपमा आयोजना गरिएका ती सबै कार्यक्रमहरुमा बोल्दै पत्रकार महासंघका जिल्ला अध्यक्ष सापाकोटाले सरोकारवाला सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।
