
गोरखा । नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा तिन जनाको उम्मेदवारी परेको छ । आगामी २५ गते हुने अधिवेशनका लागि आइतबार अध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।
जसमा नहरी सापकोटा, दीपक श्रेष्ठ र अनुपमा खनाल रहेका छन् । सापकोटालाई नेपाल प्रेस युनियनले अघि सारेको हो भने श्रेष्ठ प्रेस सेन्टरबाट उम्मेदवार बनेका हुन । त्यस्तै खनालले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।


एक हप्ताअघि नै युनियनले सापकोटालाई अध्यक्षको उम्मेदवारको रुपमा घोषणा गरेको थियो भने सेन्टरले शनिबार अध्यक्षमा श्रेष्ठको नाम सार्वजानिक गरेको हो ।
त्यस्तै खनालले भने आइतबार अन्तिम समयमा संघको निर्वाचन समितीको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दिएकी हुन । अध्यक्षमा दाबेदार सापकोटा दरौदी दैनिक, श्रेष्ठ रेडियो मनासलु र खनाल च्वाइस एफ एममा कार्यरत छन् ।
गोरखामा प्रेस चौतारीले युनियनकै उम्मेदवारलाई समर्थन गर्ने सहमती जनाएको छ । यता आइतबार नै महासंघको अन्य पदमा समेत उम्मेदवारी परेको छ ।


जसमा उपाध्यक्षमा नरेन्द्र ढकाल र हरीराम उप्रेतीले उम्मेदवारी दिएका छन् भने महिला उपाध्यक्षमा रेणु श्रेष्ठको एकल उम्मेदवारी परेसंगै उनि निर्विरोध चयन भएकी छिन् । उनि गोरखाखबरमा आवद्ध छिन् भने उपाध्यक्षका उम्मेदवार ढकाल गोरखा समाचार दैनिक र उप्रेती कान्तिपुर दैनिकमा आवद्ध रहेका छन् ।
संघको आगामी कार्यकालका लागि सचिवमा भने विकास मरहट्टाको उम्मेदवारी परेको छ । सुरुवात दैनिकमा आवद्ध उनको सचिवमा एकल उम्मेदवारी परेसंगै निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीले जानकारी दिए ।



यसैगरी कोषाध्यक्षमा भने मोहसिन अलि मियाँको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पदमा समेत मियाँको एकल उम्मेदवारी परेपछि निर्विरोध चयन भएको संयोजक दुवाडीले बताए । उनि सिभिलखबर डटकममा आवद्ध छन् ।
यसैगरी सहसचिवमा केशव गुरुङ र गुणराज रोका चयन भएका छन् । आइतबार उम्मेदवारी दर्ता गराउने अन्तिम समय सम्मपनि सहसचिवको समावेशी तर्फ गुरुङ र खुल्ला तर्फ रोकाको एकल उम्मेदवारी परेको थियो ।

यससंगै उनिहरु समेत निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सस्मिता पन्त, उद्धव कुमाल, विमल श्रेष्ठ, दानबहादुर गुरुङ्क, सन्दिप विक, सुजन न्यौपाने, राजेश पौडेल निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय परिषद सदस्यमा किशोरजंग थापा, प्रदेश परिषद सदस्यमा आत्माराम श्रेष्ठको एकल उम्मेदवारी परेको बताइएको छ । समितिले उम्मेदवारहरुलाई दावी बिरोध फिर्ता लिनका लागि आज सोमबार साँझसम्मको समय दिएको छ भने आगामी २५ गते निर्वाचनका लागि समय तोकेको छ ।