काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई विदेशमा ज्यान गुमाएका गोरखाका २ युवाको शव बुझ्न आएका आफन्तसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

वैदेशिक रोजजारीमा गएका गोरखाका दुईसहित १२ जना नेपालीहरूको शव आज विमानस्थलमा आउने खबर उनले पाएका थिए।
गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका वडा नम्बर १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव मलेसियाबाट ल्याइएको थियो।

भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका युवाको वैदेशिक रोजगारीका क्रममास् निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका सदस्यहरूलाई भेट्न भट्टराई विमानस्थल पुगेको बताए।

भट्टराईले पनि वैदेशिक रोजगारीमा गएका १२ जना युवाको शव एकैदिन विमानस्थल आइपुगेको उल्लेख गरेका छन्। ‘कस्तो दुःखद अवस्था,’ उनले भनेका छन्, ‘शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र!’
भट्टराई हरेक महिना गोरखा जाने र निर्वाचन क्षेत्रका बासिन्दासँग कुराकानी गर्ने गर्छन्।
