• शनिबार, साउन ९ २०८३

इस्लाममा सब‍-ए-बरात पर्वकाे महत्व, किन र कसरी मनाउने ?


आइतबार, चैत्र १५ २०७७
2.9K
Shares

संसारमा इश्लाम शब्द नसुन्ने मानिस सायदै नहोलान् । यो धार्मिक शब्द हो अनि संसारमा धेरै धर्महरु मध्ये सबै भन्दा प्रमुख तथा संसार कै सबै भन्दा बढि जनसंख्याले मान्ने धर्म हो इश्लाम । इश्लाम धर्म कुनै नया धर्म पनि होइन । यो धर्म मान्ने मानिसलाई मुसलमान वा मुस्लिम शब्दले सम्बोधन गर्ने गरिन्छ । मुस्लिम समुदाय बिश्व भर छरिएर रहेका छन् ।

हरेक धर्मको आ–आफ्नो मुल्य, मान्यता र विश्वास हुने गर्दछ । चाहे त्यो ईश्लाम होस् या ईशाइ, चाहे त्यो हिन्दु होस् वा बौद्ध चाहे अरु कुनैको धर्मको । सबैको आ–आफ्नो धर्ममा विश्वास र आस्था पक्कै पनि हुन्छ नै । संसारमा धेरै धर्महरु छन् र सबैले आ–आफ्नो धर्ममा बिश्वास राखेकै छन् र राख्नु पनि पर्छ । धर्म नमान्य मानिस अज्ञानी हुन्छ उसमा कुनै अनुशासन भन्ने हुदैन, न त उसले पाप र धर्मकै बारेमा नै जानेको हुन्छ । बास्तवमा धर्म भनेकै उसलाई अनुशासनको घेरा भित्र राख्ने एउटा बन्धन हो र धर्म नै बिश्वास हो ।

हरेक धर्मको आ–आफ्नै रितिरिवाज, संस्कृती, भाषा, चाडपर्व लगायत हुने गर्दछन् । इश्लाम धर्ममा पनि बिभिन्न महत्व राख्ने धेरै चाडपर्वहरु छन् । कुनै बढि महत्व राख्ने होलान त कुनै कम । हो ति बिभिन्न चाडपर्वहरुको भिडमा एउटा फरक र महत्वपूर्ण पर्व हो सबे–बारात अर्थात सुकरात । इस्लामिक क्यालेण्डर अनुसार आठौं महिना सावनको पन्ध्रौ तारिखमा पर्ने यो सबे–बारात (सुकरात) पर्वले इश्लाम धर्ममा विशेष महत्व राख्दछ ।

इस्लामिक क्यालेण्डरको नबौ महिना जुन मुस्लिमहरुको सबै भन्दा पवित्र महिना रमजानको पूर्व सन्ध्यामा लगभग पन्ध्र दिन अघि मनाइने यो पर्व अन्तिम सन्देष्ठा हज्रत मुहम्मद सल्लल्लाहो अलैहिस सलामको जमाना देखि नै मनाउन थालिएको धार्मिक गुरुहरु बताउछन् । उनिहरुका अनुसार स्वयम् हज्रत मुहम्मद सल्लल्लाहो अलैहिस सलामले भन्नु भएको छ कि “यो सावनको महिना मेरो महिना र रमजान महिना अल्लाहको महिना हो यो महिना अरु महिना भन्दा बढि बर्कतवाला महिना पनि हो ।” यो महिनामा हज्रत मुहम्मद सल्लल्लाहो अलैहिस सलाम धेरै जसो रोजा (ब्रत) राख्नुहुन्थ्यो । यस सबे–बरात पर्वको दिनमा रोजा (ब्रत) राख्नु सुन्नत अनि र रातभर जाग्राम बसेर अल्लाहको इबादत गर्ने गरिन्छ ।

गोरखा नगरपालिका २ गाइखुरका धार्मिक बुद्धिजिवी हाजी नबि बक्श मियाँ भन्नुहुन्छ “यो रात धेरै महत्वपूर्ण रात हो यस रातमा अल्लाहको इबादत गर्नाले लोक, परलोक दुबैमा फाइदा हुन्छ । गाउँ बस्तिका सबै मानिस एकै ठाउँ मस्जिद लगायत धार्मिक स्थलहरुमा भेला भएर पबित्र धर्म ग्रन्थ कुरान सरिफ पढ्ने, नफ्फिल (अतिरिक्त) नमाज पढ्ने, अल्लाह संग आफुले बर्ष भरि जान, अन्जानमा गरेका सबै गल्तिहरुको क्षमा याचना गर्दै दुवा गर्ने, मिलाद सरिफ पढ्ने, मरेका आफन्तजनको चिरशन्तिीका निम्ती दुवा गर्ने लगायतका धार्मिक क्रियाकलाप गरि यो पर्व मनाइन्छ ।”

यस सबे–बरातको रातभर गरेको इबादत (धर्मिक क्रियाकलाप) अरु दिन र रातको भन्दा निक्कै फलदायी हुन्छ भन्ने मान्यता र बिश्वास छ । यस रातमा गरेको हरेक इबादत र दुवा (पुकार) अल्लाहले सहर्ष स्विकार (कबुल) गर्छन् । इश्लामिक मान्यता अनुसार यो रातमा अल्लाहले एक बर्ष भरि संसारभरमा हुने सम्पूर्ण क्रियाकलापहरुको योजना बनाउने रात हो भन्ने प्रमाण हामी धार्मिक ग्रन्थहरुमा पाउन सक्छौ ।

सावन महिनाको पन्ध्रौ तारिख देखि अर्को सालको सावनकै पन्ध्र तारिख सम्म यस पृथ्विमा हुने काम, कारबाहीको योजना यहि रातमा बन्दछ । एक बर्षमा को कति मर्ने, जन्मने, कस्लाई कति सम्पती दिने, कस्लाई धनि बनाउने, कस्लाई गरिब बनाउने, कस्लाई बिरामी बनाउने, जागिर, ब्यापार वा कस्लाई सफल, कस्लाई असफल बनाउने लगायत यस धर्तिमा आइपर्ने सम्पूर्ण भौतिक अभौतिक घटना वा क्रियाकलापहरुको एक बर्षे कार्य योजना यहि रातमा अल्लाह स्वयम्ले बनाउने गर्दछन् भन्छन् ताप्ले–५ गाइखुरको मदार्सा हन्फिया रज्विया प्रा.वि.का इश्लामिक शिक्षक सबुर बक्श मियाँ ।

त्यसैले यस पर्वको दिनभर रोजा (ब्रत) राख्ने र रातभर जाग्रम बसेर अल्लाहको इबादतत गर्न स्वयम अन्तिम सन्देष्ठा हज्रत मुहम्मद सल्लल्लाहो अलैहिस सलामले धार्मिक ग्रन्थहरुमा बताउनु भएको छ । यस रातमा इबादतको अलवा कब्रस्तानमा गई आफ्ना मरेका आफन्तजनको चिरशान्तिका निम्ती दुवा गर्नु, कबरको जियरत गर्नु हाम्रा नबि मुहम्मद सल्लल्लाहो अलैहिस सलामको तरिका (सुन्नत) हो र स्वयम नबिले समेत साउदी स्थित पबित्र धर्मिक स्थल मदिना सरिफको मस्जिदे नब्विको नजिक जन्नतुल बकियामा गई जियारत गरेका थिए भन्ने थुप्रै प्रमाणहरु धार्मिक ग्रन्थहरुमा पाउन सकिने शिक्षक सबुर बक्श बताउछन् ।
यसरी यस रातमा गरेको इबादत, दुवा (पुकार) लाई अल्लाहले सहर्ष स्विकार गर्नेछन र यस रात अरु रातहरु भन्दा धेरै गुणा महत्वपूर्ण रहेको छ ।

बिशेष गरेर यो सावनको पन्ध्र तारिख देखी अर्को सालको यहि महिनाको पन्ध्र तारिख अर्थात एक बर्ष भरि यस धर्तीमा हुने सम्पूर्ण काम, कार्बाही, घटना लगायत सम्पूर्ण गतिबिधीको योजना बन्ने दिनका रुपमा मनाइने गरिन्छ । आजको दिन दिनभर रोजा बस्ने र रातभर अल्लाहको इबादत गरेर यो पर्व मनाइन्छ ।

के हो रमजानको एक महिने रोजा ?

मुस्लिमहरुको महान पर्व ईश्लामिक क्यालेण्डर अनुसार नवौं महिनामा पर्छ । यस पर्वमा एक महिना सम्म रोजा (ब्रत) बसेर मनाइने गरिन्छ । जब मुहम्मद सल्लल्लाहो अलैही वसल्लमलाई दुश्मनहरुले अत्याधिक सताउन थाले त्यस पछि उहाँ र उहाँका अनुयायी समेत मक्का बाट हिज्रत (प्रस्थान) गरेर मदिना गएको दुई बर्ष पछि देखि रोजा (ब्रत) सुरु भएको भन्ने प्रमाण कुरान सरिफ बाट पाउन सकिन्छ ।

यस महिना दया, माया, क्षमा, जहन्नम (नर्क) बाट मुक्तिका र पारस्पारिक सहानुभुतिको महिना पनि भन्ने गरिन्छ । यस महिना भर जन्नत (स्वर्ग) को ढोका खोलिन्छ र नर्कको ढोका बन्द गरिन्छ र शैतानलाई शाङ्लाले बाधिन्छ यसैगरी मानिसको प्रगति मार्ग खुल्छ र पूण्यकार्यको लागी बाटो सहज हन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

यस महिना पूण्यमा बृद्धि गरिन्छ, नफ्फिल नमाजको पूर्ण फर्ज नमाज समान र फर्ज नमाज अरु महिना भन्दा यो महिना सत्तरी फर्ज नमाज कायम गरे समान हुनेछ र नमाज पढ्नेहरुको दुवा (पुकार) मात्र अल्लाहले स्विकार गर्नेछन् । यसै महिनामा नै पवित्र कुरान अवतरीत भएको थियो र जुन संसारका सम्पूर्ण मुस्लिमहरुको मार्ग दर्शन हो ।

रोजा (ब्रत) ईश्लामको आधार स्तम्भ मध्ये चौथो स्तम्भमा पर्छ । रोजा जसलाई अरबिक भाषमा सियाम भनिन्छ जस्को अर्थ रोक अर्थात किहान सूर्य उदाए देखि सूर्यस्त सम्म खान पिन लगायत हरेक कार्यबाट आफुलाई रोक्न सक्नु नै रोजा हो । एक महिना सम्म अल्लाहका लागी रोजा (ब्रत) बसेर अल्लाहको अपसना, प्रार्थनाको उदेश्यले बिहान सबेरै (सूर्य उदाउनु भन्दा पहिल्यै) देखि लिएर बेलुका सूर्यस्त नहुन्जेल सम्म कुनै पनि चिज खान, पिउन, सेक्स गर्न, जुवा तास खेल्न लगायत कुनै पनि गलत कृयाकलाप बाट आफलाई जोगाउनु नै रोजा (ब्रत) हो ।

मुस्लिमहरुले बिशेष गरी बिभिन्न सामाजिक कार्यका लागी तथा गरिब, दिन दुखिहरु लाई आर्थिक तथा जिन्सी दान दिने प्रचलन यस महिनामा अलि बढि रहेको पाइन्छ । यस महिनामा मुस्लिमहरुले मिठो मिठो परिकार का खानेकुरा बनाई आफु र आफन्त लगायत अरुलाई जमघट गराइ खाने चलन रहि आएको छ । रमजानको महिनामा मुस्लिम समाजमा बिशेष गरेर सेवाई (खानकुराकोे परिकार) खाने चलन छ । बिहान सुर्य उदाउनु भन्दा पहिले बाट बेलुका सुर्यस्त सम्म केहि नखाई रोजा (ब्रत) बस्ने र बेलुका रोजा बिशेष गरी खजुर, पानी लगायत अन्य मिठो खाने कुरा खाएर रोजा (ब्रत) लाई तोड्ने गरीन्छ ।

याे लेख सेताेपाटी डटकमका लागि गोरखाका पत्रकार माेहसिन अलि मियाँले ५ बर्षअघि लेखेका हुन । फाइल साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार