काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले साथ दिएको आरोप लगाएका छन् ।
५६ औं अन्तर्राष्ट्रिय जाति भेद उन्मुलन दिवसका अवसर आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संविधान स्वीकार गर्न नसकेका स्वदेशी र विदेशी प्रतिक्रियावादीहरू मिलेर एउटा धार बनेको उल्लेख गर्दै उनले संविधान निस्तेज पार्ने मानिसका रूपमा केपी ओलीलाई भेटेको दाबी गरेका छन्।


संविधान र गणतन्त्र सिध्याउन सक्ने पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि ओली भएको उनको आरोप छ । ओली विदेशीको अगाडि सजिलै लम्पसार गर्न सक्ने पनि प्रचण्डको दावी छ ।
‘२० औं २५ औं वर्षदेखि विदेशीले हुर्काएको र पालित पोषित को हो भनेर हेर्दै जाँदा सबैले विचार गर्नु होला । केपी नै देखिए भनेका छन् र अहिले केपीलाई त्यो धारको प्रतिनिधिको रुपमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न साथ लिएका छन् । कति दिन साथ दिन्छन् थाहा छैन ।’
केपीलाई विदेशीले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्न हुर्काएको उनको भनाइ छ ।