
गोरखा । सिरानचोक गाउँपालिकामा बैज्ञानिक गाउँ कार्यक्रम सञ्चालन भएको छ । त्यहाँको कृषि क्षेत्रलाई व्यवसायीक बनाउनुका साथै स्थानीय स्तरमा बिऊ उत्पादन गर्ने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

‘कृषि क्षेत्रलाई माथि उकास्ने हाम्रो प्रयास हो,’ उनले भने,‘अहिले हामीले जौबारीबाट सुरु गरेका छौं । पछि अन्य वडामा पनि बिस्तार गर्दै लैजाने योजना छ ।’
शुक्रबार एक कार्यक्रमका वीच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नाष्ट) का उपकुलपती सुनिलबाबु श्रेष्ठ र गाउँपालिका अध्यक्ष राजु गुरुङ वीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । कृषि क्षेत्रमा संग्लन स्थानीयको ठूलो जनसंख्यालाई गरिबी, बेरोजगारी, कुपोषणबाट मुक्ति र खाद्य तथा पोषण सुनिश्चित गर्ने बताइएको छ ।


‘देशभर हामीले पहिलो पटक सिरानचोक गाउँपालिकासँग सम्झौता गरेका छौं,’ नाष्टका उपकुलपती श्रेष्ठले भने, ‘यसले अन्यत्र पनि राम्रो सन्देश पुग्ने छ भन्ने विश्वास लिएको छौं । हाम्रो उदेश्य कृषि क्षेत्रको व्यवसायिकता जोड दिनुका साथै बिऊ उत्पादन गर्नुपर्ने हो।’
जसअनुरुप पहिलो चरणमा वडा नम्बर ८ को जौवारीमा च्याउ खेति तथा बिऊ उत्पादन कार्यक्रम सञ्चालन गर्ने तयारी छ । उक्त कार्यक्रम सञ्चालनका लागि नाष्टले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लागत सहभागीता जनाउने सहमती भएको छ । ५ वर्षे सम्झौता गरिएकाले त्यसपछि अन्य वडामा पनि माग र आवश्यकताका आधारमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष गुरुङले बताए ।


देशभरका ७५३ स्थानीय तह मध्ये पहिलो पटक सिरानचोकमा बैज्ञानिक गाउँ कार्यक्रम लागु गरिएको हो । यसले त्यहाँका स्थानीयको जीवन स्तर उकास्न मद्धत गर्ने विश्वास लिइएको छ । नाष्टले चट्याङको कारण, यसले गर्ने क्षति र बच्ने उपायका बारेमा स्थानीयलाई सचेतना जगाउने प्रतिवद्धता समेत व्यक्त गरेको छ । उक्त कार्यक्रमले चट्याङबाट हुने क्षति न्यूनीकरणको अपेक्षा गरिएको छ ।
