• आइतबार, असोज ११ २०८३

नेपाललाई ओली पक्षले भन्यो—राष्ट्रिय भेला नगरौं


सोमबार, चैत्र २ २०७७
755
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेता माधवकुमार नेपाल पक्षलाई चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेला नगर्न आग्रह गरेको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको दुई पक्षका नेताहरूको बैठकमा राष्ट्रिय भेला गर्दा झन् दूरी बढ्ने भएकोले त्यस्ता भेला नगर्न आग्रह गरिएको ओली पक्षका नेता प्रदीप ज्ञवालीले जानकारी दिए।

‘आज खुलमखुला छलफल भयो। एमालेलाई सुदृढ बनाएर लैजानेबारे साझा अवधारणा बनेको छ। अन्तरविरोध छलफलबाट समाधान गर्दै जानुपर्छ,’ बैठकपछि पत्रकारहरूसँग ज्ञवालीले भने।

बैठकमा नेता नेपाल पक्षले गत फागुन २८ मा ओली पक्षले गरेका निर्णय फिर्ता लिन माग गरेका थिए।

‘२८ गतेको बैठकका निर्णय स्थगित गर्न उहाँहरूले आग्रह गर्नुभएको छ। तर त्यो निर्णय पुनरावलोकन र समीक्षा गर्नुपर्ने भए छलफल गर्दै जाऔं भन्ने हाम्रो भनाइ रह्यो,’ ज्ञवालीले भने।

साथै राष्ट्रिय भेला अहिलेको अवस्थामा आयोजना गर्दा दूरी झन् बढ्ने भएकोले भेला नगर्न भनिएको पनि उनले बताए।

‘यस्ता भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन। भेला नगरौं यसले दूरी बढाउँछ भनिएको छ,’ उनले भने।

आज छलफल सकारात्मक भएकोले अब नेताहरूबीचमा अनौपचारिक छलफल पनि जारी रहने ज्ञवालीले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार