काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चैतको दोस्रो साता बंगलादेशको दुई–दिने भ्रमणमा जाने कार्यक्रम तय भएको छ।
बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीलाई बंगलादेशबाट निमन्त्रणा गरिएको हो।
राष्ट्रपति भण्डारीले गत वर्ष नै बंगलादेश भ्रमण गर्ने तय भए पनि कोरोना महामारीका कारण रोकिएको थियो।
२०७६ कातिक २६ गते बंगलादेशी राष्ट्रपति अब्दुल हमिद चार दिने नेपाल भ्रमणमा आएका थिए।
त्यसपछि बंगलादेशको निमन्त्रणामा नेपालबाट पनि राष्ट्रप्रमुख तहबाट नै बंगलादेश भ्रमण गर्ने योजना बनेको हो। तर कोरोना महामारीका कारण रोकिएको सो भ्रमणलाई आगामी चैत दोस्रो साता गर्ने गरी तय भएको हो।
बंगलादेश सरकारले रहमानको शतवार्षिकी जन्मजयन्ती र बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती चैत ४ देखि १३ सम्म मनाउने गरी १० दिने कार्यक्रम तयारी गरेको छ।
स्रोतका अनुसार राष्ट्रपति भण्डारी बंगलादेशको भ्रमणका लागि चैत ९ गते प्रस्थान गर्ने तय गरिएको छ।
बंगलादेशी सञ्चारमाध्यमहरुले पनि राष्ट्रपति भण्डारी चैत ९ गते बंगलादेश आउने कार्यक्रम तय भएको बताएका छन्।
कोभिड महामारी सुरु भएपछि नेपालका राष्ट्रप्रमुख (राष्ट्रपति) वा सरकार प्रमुख (प्रधानमन्त्री) बाट गरिने यो नै पहिलो विदेश भ्रमण हुनेछ।