नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि केपी ओलीसँग झगडा गर्ने र ओलीलाई पराजित गर्ने भनेर माधव नेपालहरु एमालेमा आएको हो भने त्यस्तो सपना नदेख्ने चेतावनी दिएका छन् ।
पोखरा महानगरको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री गुरुङले समकालीन नेपाली राजनीतिमा ओलीलाई पराजित गर्ने हैसियत कसैसँग नरहेको दाबी गरे । गुरुङले एमाले माओवादी भइसक्दा पनि माधव नेपालहरू पेरिसडाँडामा गएर प्रचण्डको अध्यक्षतामा बैठक गरेकोमा आपत्ति जनाए ।
गुरुङले भने, ‘फेरि झगडा गर्न जाने हो, फेरि केपी ओलीलाई पराजित गर्न जाने हो भनेर खुल्लमखुल्ला अर्को पार्टीको हेडक्वार्टरमा गएर आफ्नो पार्टीकोविरुद्धमा निर्णय गरेर उहाँहरु फर्किनुभएको छ । उहाँहरू के गर्नुहुन्छ त्यो थाहा छँदैछ,तर पनि एमालेको सचिवको नाताले उहाँहरुलाई म स्वागत गर्न चाहान्छु ।’
मुख्यमन्त्री गुरुङले केपी ओलीविरुद्ध अझै पनि रिस पोख्ने हो भने अब सात मध्ये ६ प्रदेशमा एमालेकै सरकार बन्ने दावी गरे । उनले माधव नेपालहरुले पार्टीमा बसेर प्रचण्डको सेवा गर्ने काम नरोके उनीहरुलाई अप्ठेरो पर्ने चेतावनी समेत दिए ।