काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता निष्क्रिय पारेर अधिनायकवाद लाद्ने गुरुयोजना असफल पारिदिएको टिप्पणी गरेका छन् ।

मंगलबार विज्ञप्ति निकालेर उनले सर्वोच्चको फैसलाप्रति खुशी व्यक्त गर्दै अधिनायकवाद लाद्ने गुरुयोजना एक हदसम्म असफल भएको बताएका हुन् ।
‘संसदवादी पूँजीवादीमा पतन भएका कथित कम्युनिष्ट नामधारी पार्टीले प्रतिक्रियावादीको कथित दुई दलीय अधिनायकवाद लाद्ने गुरू योजना अन्तर्गत एकतावद्ध गरिएको प्रपञ्च एक हदसम्म यो निर्णयले असफल पारिदिएको छ’ उनले भनेका छन् ।


नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई बनेको दल नेपाल कम्युनिस्ट पार्टी नै राखेपछि कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।
त्यसमा सर्वोच्चले कट्टेलको पक्षमा फैसला गरेर एमाले र माओवादी केन्द्रको एकीकरणलाई निष्क्रिय पारिदिएको थियो ।