
गोरखा । नेपाल कम्युनिष्ट पार्टी एमालेले गोरखामा छिट्टै कार्यालय स्थापनाको तयारी गरेको छ । सर्वोच्व अदालतको फैसलापछि पूर्ववत अबस्थामा पुगेको नेकपा एमाले केही दिनभित्र साबिककै ठाउँमा कार्यालय राख्न लागेको हो ।
‘एमालेले पूर्ववत स्थितीमा रहेर पार्टीलाई अघि बढाउँछ,’ जिल्ला अध्यक्ष प्रेम गुरुङले भने, ‘साथीहरुसँग घनिभूत छलफल नै भइरहको छ । अब धेरै दिन टाढा जादैन एक÷दुई दिन भित्रै पार्टी कार्यालय स्थापना हुन्छ ।’

उता माओवादी केन्द्र भने पर्ख र हेरको स्थीतिमा छ । सर्वोच्व अदालतको फैसलापछि बिकसित घटनाक्रमलाई कसरी लिएर अघि बढ्ने भन्ने कुरा केन्द्रको निर्णयमा भर पर्ने अध्यक्ष लेखबहादुर थापाले बताए । ‘पार्टी कार्यालयहरु आफ्नै ठाउँमा छन्, अहिले केही गरिहाल्ने पक्षमा हामी छैनौं,’ उनले भने, ‘माथिबाट जे सर्कुलेसन आउँछ, त्यही गर्छौं ।’
दुई पार्टी वीचको एकतापछि बनेको साबिकको नेपाल कम्युनिष्ट पार्टी नेकपाले माओवादीको पार्टी कार्यालय पाटेचौरबाट गतिविधि सञ्चालन गर्दै आइरहेको थियो । चाइनिज धारामा रहेको एमालेको पार्टी कार्यालयलाई भातृ तथा सुभेक्षुक संस्थाको कार्यालय बनाईएको थियो ।

तर पछिल्लो समय नेकपामा विवाद देखिन थालेपछि केपी ओली पक्षले चाइनिज धाराको कार्यालयलाई प्रयोग गर्ने गरेको थियो । प्रचण्ड माधव समूहले पनि उक्त कार्यालय दाबी गरेपछि विवाद समेत सिर्जना भएको थियो ।
‘अहिलेको अबस्थामा केही सर्कुलेसन आइसकेको छैन,’ प्रचण्ड नेपाल समूह तिर रहेका नेता विश्वेश्वर कट्टेलले भने, ‘भोली हामी सबै साथीहरु बसेर छलफल गर्छौं माथिबाट पनि केही निर्णय आउला त्यसैका आधारमा अघि बढ्ने कुरा होला ।’


सोही समूहमा क्रियाशिल अर्का नेता यादबले पनि औपचारीक रुपमा केही जानकारी नआएकाले अहिले नै केही भन्न सक्ने अबस्था नरहेको बताए । यद्यपी नेकपाको अन्तिम बैठकले आ–आफ्नो पार्टीमा मै अन्तरसंघर्ष गर्ने निर्णय गरेको संसार माध्यमबाट थाहा पाएको उनले बताए । ‘त्यो निर्णय कसरी सम्प्रेषण हुन्छ त्यसको आधारमा हामी अगाडी बढ्छौं,’ उनले भने, ‘अहिले नै यही हो भनेर भन्ने अबस्था छैन ।’
सर्वोच्वको फैसलापछि पुरानै संरचनामा जान बाध्य भएका यी दुई पार्टीका नेता कार्यकता भने अन्यौलमा छन् । पछिल्लो समय दुई गुटमा विभाजन भएर मुढभेडमा समेत उत्रिएकाहरु कसरी एक ठाउँमा उभिएलान् त्यो हेर्न बाँकी छ ।
