काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्य पनि नरहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टी कुन हो भन्ने कुरा सर्वोच्च अदालतको फैसलाले टुंगो लगाइदिएको बताए।
यसअघि आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भीम रावलले प्रधानमन्त्री ओलीको पार्टी कुन हो भनेर प्रश्न सोधेका थिए।
सोही प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने— मैले सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? मलाई त उहाँहरूले नेकपाको साधारण सदस्यबाट पनि निष्कासन गर्नु भएको थियो। म नेकपाको साधारण सदस्य पनि होइन। अदालतले भन्यो म कुन पार्टीको सदस्य र अध्यक्ष हो।
उनले रावललाई लक्षित गर्दै भने— म कुन पार्टीको सदस्य हो भन्ने लाग्छ भने अदालतलाई सोध्नू।
प्रतिनिधि सभा बैठक स्थगित भएकोमा पनि प्रधानमन्त्री ओलीले कटाक्ष गरे।
‘मुद्दा मामिला गरेर संसद पुनर्स्थापना किन गर्या रैछ त भन्दा उफ्रिन नाराबाजी गर्ने रैछ,’ ओलीले भने, ‘कम्तिमा मेरो मेख मार्न भए पनि पहिलो बैठक राम्ररी चल्न दिनुपर्छ।’